
काठमाडौं— आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ ।
बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनले भने, 'मतदान केन्द्रमा कर्मचारीहरू खटिसकेका छन्। मतदान केन्द्र निर्माण भइसकेका छन् । सबै राजनीतिक दलसँग गर्नुपर्ने बैठकहरू भएका छन् । हामी बिहान ९ बजेको प्रतीक्षामा छौँ ।'
उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।
प्रदेश सभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको पौडेलले बताए ।
सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए । 'राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय हाम्रो स्थायी संरचना भयो । राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९/९ जना कर्मचारीको व्यवस्था गरिएको छ,' उनी भन्छन्, 'तीन जना कर्मचारी प्रदेश निर्वाचन कार्यालयकै छन् । पाँच जना कर्मचारी मात्रै अन्य छन् ।'
निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने पौडेलको भनाइ छ । बेलुकी ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।
'दिउँसो तीन बजे निर्वाचन सकिन्छ । एक डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम गर्छन् । त्यसपछि मतगणना सुरु हुन्छ । ६/७ बजेसम्ममा मतपरिणाम आइसक्ने आयोगको अपेक्षा छ,' उनले भने ।
पौडेलका अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।