News Griha :: न्यूजगृह
हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस, तापक्रम माइनस १० डीग्री सेल्सियस

काठमाडौं— हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।

मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ । 

मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको छ । विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डीग्री सेल्सियस देखिएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्रसिंहले बताए । बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल प्रमुख सिंहले जानकारी दिए ।

चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेका छन् । उनले चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर गर्ने भएकाले बाक्लो कपडा लगाएर न्यानो भएर बस्न आग्रह गरे ।

चिसो ह्वात्तै बढेपछि स्थानीय तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् । जाडो मौसममा एक भारी दाउराको मूल्य एक हजारसम्म पर्ने गरेको छ । यसअघि दिउँसो घाम लागेर चिसो कम मानिए पनि आज बिहानैदेखि घाम नलाग्दा अत्यधिक चिसो भएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:३९
Weather Update