News Griha :: न्यूजगृह
बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित

विराटनगर— बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

केही दिनअघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । 

चिसो धेरै बढेपछि सार्वजनिक स्थानहरूमा सर्वसाधारणको चहलपहल सामान्यभन्दा कम देखिएको छ । विराटनगर र आसपासको तापक्रम न्यूनतम ८ डिग्री सेल्सियस भन्दा कम मापन गरिएको छ । 

चिसोका कारण झापा, मोरङ, सुनसरीमा जनजीवन प्रभावित बनेको हो । चिसो बढ्दा खासगरी वृद्धवृद्धाहरू बढी समस्यामा परेका छन् । चिसोका कारण बिरामी हुनेहरू विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन् ।

गत साता पनि एक्कासि चिसो बढेको थियो । चिसो बढेपछि अधिकांश स्थानमा विद्यालयहरूमा बिदा दिइएको थियो । त्यसपछि केही दिन घाम लाग्ने गरे पनि फेरि हुस्सु लाग्न थालेर चिसो बढ्न थालेको हो । 

प्रतिकूल मौसममा कारण विराटनगरबाट हुने हवाई उडानहरू पनि प्रभावित बनेका छन् । विराटनगर विमानस्थलबाट दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:४०
Weather Update