News Griha :: न्यूजगृह
काठमाडौंको आकाशमा बादल, पानी पर्ने वातावरण अझै बनेन

काठमाडौं— केही दिनदेखि काठमाडौंमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौंको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।

काठमाडौंमा पानी पर्न अझै केही समय कुर्नुपर्ने जानकारी कँडेलले दिइन् । अहिले काठमाडौंको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको महाशाखाले जनाएको छ ।

‘काठमाडौंमा पानी पर्ने वातावरण अझै बनेको छैन, नजिकका अग्ला पहाडमा छिटपुट वर्षा हुनसक्छ,’ कँडेलले भनिन्, ‘आकाशमा बादल हुँदा हुस्सु कुहिरो हट्न समय लाग्छ ।’ 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:०२
Weather Update