
काठमाडौं— कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इन्जिनियर हिमालय सिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिक लाभ हुने गरी बदनियतपूर्ण ढङ्गले आर्थिक लाभ गराई राज्यलाई हानिनोक्सानी पुर्याएको दाबीसहित मुद्दा दायर गरिएको आरोपपत्रमा उल्लेख छ ।
शुल्क उठाउने ठेक्कामा भीमदत्त नगरपालिकाले भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा ५ करोड ४३ लाख बराबरको राजश्व हानिनोक्सानी गरेको दाबी अख्तियारले गरेको छ । भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायले १ करोड ९५ लाख ७२ हजार बराबरको नगरपालिकाको राजस्व चुहावट गरेको आरोपपत्रमा उल्लेख छ ।
भट्ट र सम्झौतापत्रको साक्षीमा रही हस्ताक्षर गर्ने उपाध्यायसँग १ करोड ९५ लाख ७२ हजार बिगो माग गरिएको छ । त्यसैगरी उनीहरूलाई चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासमेत माग गरिएको छ । महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा इन्जिनियर ऐरको संयोजकत्वमा अधिकारी, भट्ट र चौधरी सदस्य रहेको समितिले खरिद एकाइ बैठकले करको कायम दररेटअनुसार बोलपत्र पुस्तिका तयार नगर्दा एक करोड ९५ लाख ७२ हजार बराबरको राजस्व चुहावट गरी सरकारी रकमको हानिनोक्सानी भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
यस्तै, भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्टले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा भीमदत्त नगरपालिकासँग सम्झौतामा फरकफरक दररेट उल्लेख गरी आफूलाई आर्थिक लाभ हुने गरी सम्झौता गर्दा राजस्व चुहावट वापत १ करोड ९५ लाख ७२ हजार हानिनोक्सानी भएको अख्तियारले जनाएको छ ।
उनीहरूले भीमदत्त नगरपालिकासँग बैंक जमानत राखी सम्झौता गर्नुपर्नेमा सो नगरी सम्झौता गर्दा तीन करोड ४७ लाख ५९ हजार नगरपालिकालाई प्रत्यक्ष हानिनोक्सानी पुगेकाले कन्स्ट्रक्सनका सञ्चालक केशवराज र आधिकारिक प्रतिनिधि दिवाकरले राजस्व र जमानतसमेत गरी ५ करोड ४३ लाख ३१ हजार गैरकानुनी लाभ लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भवानी कन्स्ट्रक्सन प्रालिसँग ५ करोड ४३ लाख ३१ हजार बिगो माग गरिएको छ ।













