News Griha :: न्यूजगृह
आजदेखि शहीद सप्ताह सुरु, शास्त्रीको सालिकमा माल्यार्पण 

काठमाडौं— आजदेखि शहीद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनको योगदानलाई सम्झिएको छ । 

उपमेयर सुनिता डङ्गोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरेका छन् । उपमेयर सुनिता डङ्गोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताइन् ।

‘उहाँको योगदान नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुभयो । विशेषगरी नेपाल भाषाको व्याकरण लेख्ने उहाँ नै पहिलो व्यक्ति हो,’ उपमेयर डङ्गोलले भनिन्, ‘त्यो मात्रै होइन बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति पनि उहाँ नै हो ।’

Sunita-Dangol-1706073691.jpg
नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । 

नागरिकको हक हितका लागि तत्कालीन व्यवस्थाविरुद्ध विद्रोह गर्दा १९९७ साल माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुन्डाएर शास्त्रीको हत्या गरिएको थियो ।

sukraraj-sastri-2-1706073673.jpg
शास्त्रीलाई झुन्ड्याइएको रूख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको हो । सरकारले शहीद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:०६
Weather Update