
काठमाडौं— रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुबा सवारी दुर्घटनामा मारिएका छन् ।
सिन्धुली प्रहरीका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ त ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुबाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको एसपी राजकुमार सिलवालले जानकारी दिए ।
उक्त ट्याक्टरले ती किशोरीका बुवा सवार मोटरसाइकलसँगै ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । यसका चालक भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच मृतकका आफन्तले षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुबाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषण बारे अन्तर्वार्ता दिएका थिए । ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।
बाराको रतनपुरीस्थित जङ्गलको आश्रममा बस्दा ती किशोरीलाई बाल यौन शोषण गरेको अभियोगमा बम्जन हाल महोत्तरी जिल्ला कारागारमा छन्।













