
काठमाडौं— सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बुधबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताइन् ।
उनले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताइन् ।
उनले मन्त्रिपरिषद्का बैठकले नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको जानकारी दिइन् । उनको भनाइमा सरकारले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको छ ।
प्रवक्ता शर्माले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको बताइन् ।
बैठकले अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिएको मन्त्री शर्माले बताइन् । उनले नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको बताइन् ।
उनले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिएको पनि बताइन् । त्यस्तै सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैय्याको आधारभुत अस्पतालमा स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिएको छ ।













