-1706020031.jpg)
काठमाडौं— क्याफे तथा गेष्टहाउसमा नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएकी ३६ वर्षीया आशा लामा भनिने लालकुमारी तामाङ छन् ।
प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जना नाबालिकाको उद्धार पनि गरेको छ । ती महिलालाई ब्युरोले माघ ८ गते जडिबुटीबाट पक्राउ गरेको हो । उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ ।
तामाङले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका नाबालिकालाई क्याफे तथा गेस्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
शुरुमा नाबालिकालाई क्याफे र गेष्टहाउसमा वेटरको काममा लगाउने र केही समयपछि ललाइ फकाई प्रलोभनमा पारी आफूले सञ्चालन गरेको चरिकोट गेस्ट हाउसमा राखी वेश्यावृत्तिमा लगाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।
नाबालिकाहरुलाई तीन वर्षदेखी बिभिन्न प्रलोभनमा पारी ग्राहकहरूसँग रकम लिई शारीरिक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडितलाई दिने गरेको खुल्न आएको पनि ब्युरोले जनाएको छ । उद्धार गरिएका बालिकालाई हाल सुरक्षित आवासमा राखिएको छ ।













