News Griha :: न्यूजगृह
भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ?, चाहिन्छन् यी कागजात

काठमाडौं— अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ । मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो ।

भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने विभागले जनाएको छ । सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि भनिएको छ । 

यस्तै, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ । भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्की अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको हो ।  

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ । 

कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ । यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने भनिएको छ । 

अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ ।

‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्कने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।’

विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि विभागले अनुरोध गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ।

भारत र बेलायती सेनामा सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने गैरकानुनी र राष्ट्रहित विपरित भएको भन्दै यस्ता काममा जाने व्यक्तिहरूको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:४४
Weather Update