News Griha :: न्यूजगृह
गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : कोइराला

विराटनगर— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् ।

कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् । 

कृष्णप्रसाद कोइरालालाई स्मरण गर्दै उनले भने, ‘कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शमशेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो । त्यो असहमति वा विद्रोहको नमुना थियो । पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो । त्यसैले म भन्छु गलत गरिरहेका छौं भने असहमति र विद्रोह जरुरी छ ।’

२०६२/०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल स्वरुप विद्रोह भएको उल्लेख गर्दै डा. कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्याउन जरुरी रहेको बताए ।

‘संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन । संघीयता वा संविधानले दिएको अधिकार जनताको घर घरमा पुर्याउनुपर्छ भनेको हो । सुशासन कायम गर्नुपर्छ भनेको हो । तर नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ । जवाफदेही कोही छैन्, पारदर्शी छैन्,’ कोइरालाले अगाडि भने, ‘लोकतन्त्र गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन । गणतन्त्रलाई राम्रो बनाउन चाहिँ सक्नुपर्छ ।’ 

आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठिक ढंगले नसकेको औँल्याउँदै डा. कोइरालाले सरकारले विकासको गति दिन नसकेको बताए । बैंकहरूको व्यवहार र विकासको गति ठिक नभएकोप्रति उनको आक्रोश थियो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०८०’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:५८
Weather Update