News Griha :: न्यूजगृह
उदाउँदो रविको अस्ताउँदो छवि ! 

काठमाडौं— कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवद्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उठेको छ । नेतृत्वमाथि नै सार्वजनिक रुपमा नैतिक जवाफदेहिताको प्रश्न उठेपछि स्वाभाविक छ कि दल त्यसबाट पन्छिन सम्भव छैन ।

उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकपछि अर्को गम्भीर प्रकृतिका नैतिक प्रश्नले घेरिँदै आएका छन्। उनको स्पष्टीकरणले कुनैपनि प्रश्नको सही जवाफ नपुगेर विवाद जारी छ । लामिछाने मात्र होइन उनकै एकजना सहयोगी आर्थिक अपचलनको आरोप लागेपछि पदमुक्त भइसकेका छन् । सभापति लामिछानेकै अध्यक्षतामा बसेको रास्वपाको बैठकले नै उनलाई सबै पदबाट हटाएको थियो । तर सभापति लामिछाने उनीमाथि लागेका आरोपहरूको चित्तबुझ्दो जवाफ समेत दिन असमर्थ भइरहदा पनि पदमा बहाल नै छन् ।

सहकारीको रकम अपचलन सम्बन्धी विवादले घेरिएका लामिछानेले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर आफूलाई दुरुपयोग गरिएको भन्ने अर्थ लाग्ने गरी स्पष्टीकरण दिने प्रयास गरे। आफ्नो दलका शीर्ष नेताहरूलाई दायाँबायाँ राखेर संवाददाताहरूसँग उनले सञ्चारमाध्यमहरू नै आफूलाई ठग जस्तो देखाउन सक्रिय रहेको आरोप लगाए । पछिल्ला निर्वाचनहरूमा लोकप्रिय मत पाएर जितेका सांसद लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयकोसमेत छोटो समय नेतृत्व गरिसकेका छन् । त्यहीबेला उनीमाथि राहदानी दुरुपयोगको आरोप लागेको थियो। अहिले उनी ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको रकम अपचलनको आरोप खेपिरहेका छन् ।  

स्थापनाकालमै निकै चर्चा कमाएको ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा बैंक खातामा एक करोड रुपैयाँ जम्मा भएको आरोपमा केन्द्रित भएर सभापति लामिछानेले स्पष्टीकरण दिएका छन् । राजनीतिमा प्रवेश गर्दा रास्वपा चुनेका बैङ्कर अनिल केशरी शाह र नेपाली कांग्रेस परित्याग गरेर रास्वपाबाट प्रतिनिधि सभा सदस्य जितेका अर्थशास्त्री स्वर्णीम वाग्ले सभापति लामिछानेको स्पष्टीकरणका साक्षी बसेका थिए ।  

टेलिभिजनमा रहँदा खोजमूलक समाचार प्रस्तोताको नाम कमाएका लामिछानेले राजनीति, व्यवसाय र अरु विभिन्न क्षेत्रका मानिसहरूमाथि नैतिक प्रश्न उठाउँदै आएका थिए । वैदेशिक रोजगारीका समस्यासँग जोडिएका विषयहरू प्रसार गरेर सर्वसाधारणको मन जितेका उनले त्यसकै आधारमा राजनीतिक जग निर्माण गरेका थिए । निर्वाचन जित्न उनलाई त्यही भूमिकाले साथ दिएकोमा कुनै शंका छैन । तर आज उनैमाथि कतिपय उस्तै प्रकृतिका प्रश्न उठेका छन्, जसको ठोस जवाफ दिन लामिछानेलाई निकै कठिनाइ परिरहेको देखिएको छ । यतिबेला सभापति लामिछानेमाथि उनको बैंक खातामा अज्ञात स्रोतबाट एक करोड रुपैयाँ जम्मा भएको आरोप छ । यो आरोप खण्डन गर्न बैङ्कर शाहको सहयोग लिएका उनले ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक रहँदा सहकारीबाट लिएको ऋणलाई सहकारीको बदमासी जस्ता विषयमा बहस गर्न आफ्नै उपसभापति अर्थशास्त्री वाग्लेको तर्कको सहारा लिनु परिरहेको देखिन्छ । 

संवाददाताहरूसँग प्रश्नोत्तरमा सहभागी हुँदा  सभापति लामिछाने आफ्नो बचाउ आफैं गर्ने प्रयत्न पनि नगरेका होइनन्। आफ्नो खातामा एक करोड रुपैयाँ कसरी जम्मा भयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले रकम जम्मा नभएको प्रमाणहरू दिन अनेक तर्क पनि गरिरहे। यसको सफाइ दिन उनले पत्रकार सम्मेलन कक्षबाटै सम्बन्धित बैङ्क र शाखाका प्रबन्धकलाई फोन गरेर समेत आफूले प्राप्त गरेको पत्रको अधिकारिकता सार्वजनिक रूपमा पुष्टि गर्ने प्रयत्न गरे। त्यो फोन संवाद सुनाएर उनले पत्रकारहरूलाई थप स्पष्ट पार्ने प्रयास पनि गरेका थिए । 

गोर्खा मिडिया नेटवर्कले सहकारी संस्थाबाट लिएको ऋण र सभापति लामिछानेको संलग्नताबारे नेपाल प्रहरीको सीआईबीले पनि अनुसन्धान सुरु गरिसकेको छ । सभापति लामिछानेको खाताको ट्रान्जेक्सन क्लियर भए/नभएको पुष्टि पनि अनुसन्धानबाट नै हुनेछ ।

रास्वपा दलले भने सभापति लामिछानेको यो विवादमा आफूलाई अनिर्णयको बन्दी बनाएको देखिन्छ। अरुतिर नैतिक प्रश्न उठाउन अग्रणी देखिन खोजेको यो दलले गएको निर्वाचनमा लोकप्रिय मतले उल्लेख्य सङ्ख्यामा प्रतिनिधि जिताएर प्रतिनिधि सभामा ल्याएको थियो । पुराना ठूला दललाई झस्काउने गरी सांसद जितेको यो दलले आगामी निर्वाचनहरूमा अझ हैसियत बढाउने चर्चा भइरहेका बेला उसको नेतृत्वमाथि अनेक नैतिक प्रश्नहरू उठिरहेको छ । तर रास्वपा भने आफ्नै नेतृत्वलाई विवादहरु निरुपण नहुन्जेलसम्म पनि पदबाट हटाएर निस्क्रिय राख्न हिम्मत गरिरहेको छैन ।

यसबाट त्यो दलकै भूमिका प्रश्नको घेरामा पर्न थालेको देखिन्छ। द्वैध चरित्र प्रदर्शन गरेको जस्तो भूमिकाले स्वयं रास्वापाको राजनीतिक छवि धूमिल बनाउँदै लाने सम्भावना देखिन्छ। ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने चर्चित लोकोक्ति जस्तो भूमिकाबाट बच्न नसके उदीयमान दल रास्वपाको राजनीतिक शक्ति स्खलन तिर नबढ्ला भन्न सकिँदैन ।

सभापति रवि लामिछानेलाई जस्तासुकै विवादमा परे पनि काँधमा बोकेर हिँडिरहे रास्वपाको गति कस्तो हुने हो भनेर सर्वत्र टिकाटिप्पणी भइरहेको देखिन्छ । यसले अन्तत समग्र राजनीतिक क्षेत्रकै विसंगति मा मलजल समेत गर्नेछ भनेर राजनीति विश्लेषकहरूले चिन्ता प्रकट गरिरहेको पाइन्छ ।

आफूमाथि लागेका तमाम आरोपबाट क्लिनचिट नपाएसम्म रास्वपा सभापति रबि लामिछानेको राजनीतिक अवस्था ‘उदाउँदो रविको अस्ताउँदो छवि’ जस्तो हुन पुगेको छ भन्दा अन्यथा हुने देखिँदैन । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:४६
Weather Update