News Griha :: न्यूजगृह
मानव अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र सुनिश्चितता गर्ने काम राज्यको दायित्व भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धतालाई योजनावद्ध रुपमा कार्यान्वयन गर्ने पनि बताए । सो क्रममा उनले सरकारले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण र कार्यन्वयनमा ध्यान दिएको उल्लेख गरे । 

‘मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा छ । उक्त कार्ययोजनाले उद्योगी/व्यवसायी, प्रतिष्ठान र मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको मार्गदर्शन सिद्धान्तलाई दृष्टिकोण गरि छुट्टै राष्ट्रिय कार्ययोजनालाई लागूगर्ने व्यवस्था गरेको छ,’ उनले भने । 

राष्ट्रिय कार्ययोजनामा श्रमिक, उपभोक्ता, महिला तथा बालबालिका, वैदेशिक रोजगारीमा गएका कामदार, जनजाति, लैङ्गिक समानता तथा जातीय भेदभाव विरुद्धको अधिकार लगायतका मानव अधिकारसँग सम्बन्धित विषयहरु समावेश गरिएको मन्त्री भण्डारीले जानकारी दिए । 

उनले अहिलेको अवस्थामा आर्थिक क्रियाकलापहरूलाई बढाउनको लागि परम्परागत व्यवस्थाहरूमा सुधार गर्न आवश्यक रहेको औँल्याउँदै त्यसका लागि सरकार, रोजगारदाता र श्रमिक तीनैवटा पक्षलाई सन्तुलनमा राखेर जानुपर्ने बताए । 

मन्त्रालयले आगामी २०८१/८२ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा अगाडि बढाउने गरी गृहकार्य गरिरहेको उनले जानकारी दिए ।  

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:३१
Weather Update