
विराटनगर— राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशीमा तालमेल गरेका छन् । दुई पार्टीका नेताहरूबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो ।
छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार एमालेका मतदाताले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले एमालेका उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि मतदान हुँदैछ ।
कृष्ण सिटौला हराउन एमालेले राप्रपा बोक्यो ?
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेन्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।
कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबीच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिवर्तनविरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शङ्काको वातावरण निर्माण भएको बताए । राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन नदिने निरङ्कुशतन्त्रको प्रतिनिधि दल भएको पुनको टिप्पणी थियो ।
‘जनतालाई आफ्नै घर आँगनमा पनि निस्कन नदिने र लोकतन्त्र पक्षधर शीर्ष नेतालाई थुनामा राख्ने शासक जसलाई लाखौंलाख जनता सडकमा आएर निशस्त्र सशस्त्र आन्दोलनको बलमा निकालिएको थियो’, पुनले भने, ‘त्यस्ता शासकको पक्षमा बोल्ने शक्तिलाई बोक्नुपर्ने बाध्यता एमाले नेतृत्वलाई कसरी आइलाग्यो?’
यो पनि पढ्नुहोस
केन्द्रबिन्दुमा कृष्ण सिटौला
उनले एमाले नेतृत्वले निरङ्कुशतन्त्रका हिमायतीलाई बोकेर हिँड्नु लोकतन्त्रप्रतिकै उपहास भएको आरोप उनले लगाए । कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले बताए ।
उनले ०७४ को निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा समेत आफूहरूलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापा–४ बाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर कांग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको स्मरण गरे ।
संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको आरोप पुनले लगाए ।