News Griha :: न्यूजगृह
व्यवसायीहरूको चर्को विरोधपछि पार्किङ खोल्न काठमाडौं मल पुगेको नगर प्रहरी फर्कियो

काठमाडौं सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको पार्किङ खुला गर्न पुगेको नगर प्रहरीविरुद्ध व्यवसायीहरूले नाराबाजी गरेका छन् ।

महानगरपालिकाले मलको पहिलो तला खाली गर्न भन्दै सोमबार दिउँसो माइकिङ गरेको थियो, जसको विरोधमा व्यवसायीहरूले नगर प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् । कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा पार्किङका लागि स्थान बनाउनुपर्ने भन्दै महानगरले ताकेता गरेको थियो ।

मलका तर्फबाट कानुन व्यवसायीहरूले पुस २६ मा उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए ।

उक्त आदेश कायमै रहेको बेला महानगरपालिकाका नगर प्रहरी काठमाडौं मलको भुइँ तला खाली गर्न पुगेपछि व्यवसायी आक्रोशित भएका हुन् ।

व्यवसायीहरूको चर्को विरोधपछि नगर प्रहरीको टोली पछाडि हटेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:२४
Weather Update