News Griha :: न्यूजगृह
अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान फेला पर्‍यो, ४ जना सकुशल

काठमाडौं— अफगानिस्तानमा दुर्घटना भएको एअर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन सकेको छैन । 

डेसल्ट फाल्कन (डीएफ–१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ–अब जिल्लामा दुर्घटना भएको थियो । एअर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।

इन्धन भर्नका लागि भारतको गया विमानस्थलमा रोकिएर उडेको उक्त विमान शनिबार राति ७ बजेतिर अफगानिस्तानको आकाशमा पुगेर राडारबाट सम्पर्कविच्छेद भएको थियो ।

त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु मेम्बरसमेत ६ जना थिए । 

अफगानिस्तानको नागरिक उड्डयन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाल एक्समा दुर्घटनास्थलको भिडिओ पोष्ट गरेर पाइलटसहित चार जनालाई जीवितै उद्धार गरिएको जनाएको छ । अन्य दुई जनाको अवस्था भने थाहा हुन सकेको छैन । 

मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार उक्त विमान अफगानिस्तानको हवाई क्षेत्रभित्र थिएन । तर प्राविधिक समस्याका कारण त्यसले आफ्नो बाटो बदलेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अफगानिस्तान सरकारले जनाएको छ । 

विमान दुर्घटना भएको क्षेत्र भिडिओमा हेर्नुहोस्। 

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:५८
Weather Update