
काठमाडौं— बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।दुर्घटनमा बर्दियाको गेरुवा गाउँपालिकाका– १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको डीएसपी मल्लले बताए ।
डीएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किएको थियो । दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो । ‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जस्तो देखिएको छ,’ डिएसपी मल्लले भने ।
चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा चालक मात्रै घाइत छन् । बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
पुस २८ गते राति महेन्द्र राजमार्ग अन्तरगत बाँकेको नेपालगंजबाट काठमाडौं जाँदै गरेको बस दाङको राप्ती गाउँपालिका– १ भालुवाङस्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो । २४ जना घाइते भएका थिए । लामो दुरिका सवारी साधनमा दुई जना चालक राख्नुपर्ने नियम कार्यान्वयन नहुँदा दुर्घटना नियन्त्रण हुन सकेको छैन ।













