
विराटनगर— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पहिचानको पक्षमा रहेको दोहोर्याएका छन् ।
यसअघि सार्वजनिक कार्यक्रमहरूमा पहिचानको पक्षमा रहेको बताउँदै आएका उनले आइतबार पहिचानवादी सङ्गठनका प्रतिनिधिसँगको भेटमा आफू पहिचानको पक्षमा भएको सन्देश दिएका हुन् । प्रदेशको पुनः नामकरण गरिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर प्रतिनिधिहरू र उनीबीच कोइराला निवासमा भेटवार्ता भएको थियो ।
‘तपाईँहरूले उठाएको माग र मुद्दामा सहमत छु । म पनि पहिचानको पक्षमा छु । आदिवासी, जनजातिहरूको भाषा, संस्कार, संस्कृति संरक्षणको आन्दोलन पनि सँगसँगै उठाउन अनुरोध गर्दछु,’ भेटमा नेता कोइरालाले भने । भेटमा सहभागी ‘प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति’ का संयोजक डकेन्द्र सिं थेगिमले नेता कोइरालाले आफू पहिचानको पक्षमा रहेको भन्दै पुनः नामकरणका लागि पहल समेत गर्ने उल्लेख गरेको बताए ।
भेटका क्रममा कोइरालाले प्रदेशमा चलिरहेको आन्दोलनको अवस्था, वार्ताका लागि सरकारको पहल जस्ता विषयमा जिज्ञासा राखेका थिए । पहिचानको आन्दोलन जायज रहेको भन्दै उनले नामकरणको साथै आफ्नो हक अधिकारको कुराहरू पनि सँगसँगै लानुपर्ने बताएका थिए ।
कोइरालाले प्रदेशको नाम सच्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्रदेशको नाम ‘कोशी’ राखिएपछि असन्तुष्ट बनेका पहिचानवादीले पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग राख्दै आएका छन् ।