'लिभिङ टुगेदर'मा रहेकी महिलाको हत्या, तीन महिनापछि भेटियो शव

काठमाडौं— काठमाडौंको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो ।
तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ । भारतको मोतिहारी घर भई काठमाडौंको कालिमाटीमा बस्दै आएका ४३ वर्षीय इकरामुल हक अन्सारी र मियाँ 'लिभिङ टुगेदरु' मा थिए ।
अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाहिरबाट ताला लगाएको घरको कोठाभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १७:३९













