
काठमाडौं— सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेस गर्न आदेश दिएको छ । २०७९ भदौ १६ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामा ससुरा केशवराज श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीहरूमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका प्रवक्ता कार्कीले बताए ।
सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोपमा सिभिल सहकारीका तत्कालीन अध्यक्ष, उनकी पत्नी, छोरीहरू र नातेदार विरुद्ध मुद्दा दायर गरेको थियो ।
२०७९ भदौ १६ मा दायर भएको मुद्दामा सिभिल होम्सका अध्यक्षसमेत रहेका इच्छाराज तामाङ विरुद्ध ३ अर्ब ३१ करोड बिगो सहित उनको नाममा रहेको जग्गा र अरु सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो ।
विभागले इच्छाराजकी पत्नी सृजना शाक्य तामाङसँग एक अर्ब ३० करोड बिगो मागदाबी गरेको छ । मुद्दा दायर हुने बेलामा भने उनले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् । विभागले सृजनासँग भएको सवारीसाधन र जग्गा जफत हुनुपर्ने मागदाबी पनि गरेको थियो ।
इच्छाराजले आफूले गैरकानुनी रुपमा कमाएको सम्पत्ति छोरीहरू प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी थियो ।
त्यसैले छोरी प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर समेत जफत हुनुपर्ने माग गरेको थियो । अर्की छोरी प्रतिष्ठाको नाममा रहेको एक अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने मागदाबी पनि विभागले गरेको थियो ।