News Griha :: न्यूजगृह
छानबिनमा परेका न्यायाधीश भट्टराईले दिए राजीनामा, व्यक्ति हत्याका आरोपितलाई सफाइ दिएको आरोप

काठमाडौं— जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषद्बाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् । 

‘उहाँले गत शुक्रबार राजिनामा दिनुभएको हो, तर त्यसबारे केही निर्णय भएको छैन,’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘छिट्टै न्यायपरिषद्समेत बस्दैछ, परिषद्को बैठकपछि त्यसबारे निर्णय हुन्छ ।’ 

जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनीविरुद्ध न्यायपरिषद्मा उजुरी परेको थियो । २०७६ कात्तिक ६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषद्मा समेत उजुरी परेको थियो । उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:००
Weather Update