News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

काठमाडौं— पर्साको वीरगञ्जमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् ।

प्रहरीका अनुसार उनी दुवै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका-१५ स्थित आयुर्वेद अस्पताल चोकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:१४
Weather Update