News Griha :: न्यूजगृह
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने दुईजना पक्राउ

काठमाडौं— धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम वडा नं. १९ का अशोक राउत र वडा नं. ७ का मियाज अलि छन् । उनीहरूलाई जनकपुरधाम १९ बेङ्गासिहपुरबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

अस्पतालबाट घर जाने क्रममा जनकपुरधामको तपसी चोकमा गाउँपालिका अध्यक्ष यादवमाथि शुक्रबार राति आक्रमण भएको थियो । उनले आक्रमण गर्ने व्यक्तिलाई नचिनेको तर १०४७ नम्बरको स्कारपियोमा आएको बताएका थिए ।

अध्यक्ष यादवको सूचनाकै आधारमा प्रहरीले मधेस प्रदेश ०२–००१ च १०४७ नम्बरको स्कारपियो गाडीसहित राउत र अलिलाई पक्राउ गरेको हो ‌। आक्रमणमा अन्य तीन जनाको संलग्नता रहेको र उनीहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

अध्यक्ष यादवले गाडीको पास लाइट बालेपछि सामान्य विवाद भएको र त्यसपछि दुबै पक्षले एक अर्कालाई कुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:३२
Weather Update