
काठमाडौं— दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरूले मार्मिक प्रतिक्रिया दिएका छन् । बिहीबार श्रद्धाञ्जली सभामा भेटिएका वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले वैद्यलाई सुगम सङ्गीतका संरक्षकका रुपमा सम्झिए ।
तीन दिनअघि मात्रै वैद्यसँग आफूले कुरा गरेको स्मरण गर्दै बाँस्कोटाले भने, ‘आज अचम्म भयो, खै के भनौँ । मानिसको जीवन सोच्नै नसक्ने हुँदोरहेछ । ‘सपना भुलाइ सारा’ भन्या जस्तो’, उनी भावुक हुँदै भने, ‘यो लामो जीवनमा किन म हतास हतास छु’ उहाँले त्यस्तै गीतहरू गाउनुहुन्थ्यो । उहाँका गीतले जीवन बोकेको हुन्थ्यो । किनकी जीवनको यथार्थतालाई शब्दले अङ्गालेको हुन्छ । हामी योगेश दाइलाई मिस गरिराखेका छौं ।’
वैद्यको निधनले नेपाली गीत संगीत क्षेत्रले सुगम सङ्गीतका गहन व्यक्ति, एक संरक्षक गुमाएको बाँस्कोटाको प्रतिक्रिया थियो । करिब आठ वर्ष योगेशसँगै नजिक रहेर काम गरेका संगीतकार तथा गायक टिका भण्डारीले वैद्यलाई थोरै गीत गाउने तर शब्दलाई चिनेर भावमा बगेर आत्माबाटै गाउने स्रष्टाका रुपमा लिन्छन् ।
‘सपना भुलाइ सारा’ गीत रेकर्डको समयलाई स्मरण गरेर भण्डारीले भने, ‘सपना भुलाइ सारा, आँसु पिएर जाउ’ गीत चाहिँ नातिकाजीको हातबाट उहाँले खोसेरै लिएको भन्न चाहन्छु । नातिकाजीले संगीत गर्न हार्मोनियममा राखेको गीतलाई उहाँले मलाई मन पर्यो । यो गीत मलाई सुट हुन्छ, म गाउँछु भन्नुभएको हो । त्यसपछि नातिकाजीलाई आग्रह गरेको र गाउनुस् भनेपछि गाउनुभएको गीत हो त्यो ।’
वैद्यलाई नेपाल भाषाको ज्ञाताको रुपमा लिएका भण्डारीले नेपाली सङ्गीतको पनि भाषाविद् भएको प्रतिक्रिया दिए । ‘उहाँले नेपाल भाषाका पनि थुप्रै गीतहरू गाउनुभयो । नेपाल भाषाको राम्रो ज्ञाता हुनुहुन्थ्यो । सङ्गीतमा एउटा भाषाविद् हामीले खोज्नुपर्यो भने उहाँको नाम आउँछ’ भण्डारीले भने । २०३० को दशकमा रेडियो नेपालको लोकप्रियता चुलिनुमा वैद्यको योगदान महत्वपूर्ण रहेको भण्डारीको भनाई छ ।
यो पनि पढ्नुहोस
गुन्जिरहेछ ‘सपना भुलाइ सारा....’
उनले भने, ‘रेडियो नेपालको लोकप्रियता जति चुलियो त्यसमा उहाँको योगदान ज्यादै ठूलो छ । किनकी सुगम संगीत नामाकरण गरेको समयलाई स्वर्णीम युग भनेर हामीले ३० को दशकलाई मान्यौं । हुन त उहाँले २०२२ सालमा स्वर परीक्षा पास गर्नुभएको हो । त्यसपछि उहाँले त्यस्तै प्रकृतिका गीतहरू मेहनतका साथ गहिरो भावमा अत्यन्तै लगनशील भएर गाउनुभयो । स्रोताको मन छुने काम गर्नुभयो ।’
वैद्यले नातिकाजीदेखि तारादेवीसँग संगत मात्रै गरेनन् उनीहरूकै धेरै गीत गाए र संगीत पनि भरेका छन् । उनी रातारात कलाकार बन्ने र प्रतिस्पर्धा गर्ने प्रवृत्तिभन्दा पृथक र मिडियाबाट पनि टाढै बस्थे तर अन्तरमनबाट सङ्गीतमा रमाउने व्यक्ति भएको भण्डारी सम्झन्छन् ।
वैद्यसँग नजिक रहेर काम गरेका संगीतकार सुरेन्द्र श्रेष्ठ उनको निधनले स्तब्ध भएको प्रतिक्रिया दिन्छन् । श्रेष्ठले केही समय अघिमात्रै वैद्यको गीतमा आफ्नो स्वर दिएका थिए तर वैद्य जीवित हुँदै गीत रिलिज गर्ने मौका भने पाएनन् ।
‘एक हप्ता अगाडिमात्रै उहाँको घरमा हाम्रो भेट गीतको सिलसिलामा भएको थियो । तीनचार महिना अगाडि हामीले तीन चारवटा गीत उहाँको घरमै गएर उहाँकै सङ्गीतमा रेकर्ड गरेका थियौं । मैँले उहाँको सङ्गीतमा गाउने अवसर पाए । मेरो सङ्गीतमा उहाँले गाउनुभयो । तर उहाँको निधनले दुःखी बनाएको छ । उहाँ सपना पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ श्रेष्ठले भने ।
लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित वैद्यको स्वास्थ्य बिहीबारबाटै बिग्रिएको बासु शशि स्मृति परिषदका सचिव प्रद्युम्न जोशी बताउँछन् । ‘बेलुका योगेशलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार ७७ वर्षको उमेरमा प्राण त्यागे,’ जोशीले भने ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका योगेशले करिब ३३ वर्ष सरकारी जागिरमा बिताएका थिए । ०६१ मा सहसचिव पदबाट अवकाश लिएका योगेश निरन्तर संगीत साधनामा थिए ।
उनको पार्थिव शरीरमा श्रद्धा–सुमन अर्पण गर्न नेपाली कला क्षेत्रका व्यक्ति एवम् शुभचिन्तकहरू नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर अन्तिम बिदाई गरेका थिए ।