
काठमाडौं— निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ । माघ ११ गते हुने निर्वाचनका लागि आयोगले सबै मतपत्रहरू छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो ।
प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानी आयोगले तोकेको सङ्ख्यागत मापदण्डका आधारमा मतपत्र छपाई गरेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।
जसअन्तर्गत कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४०, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू रहेको आयोगले जनाएको छ ।
०८० फाल्गुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदान हुँदैछ । निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि ६ वर्षसम्मको हुने आयोगले जनाएको छ ।