News Griha :: न्यूजगृह
हेटौंडा बजार क्षेत्रको सडक विस्तार चैतभित्र

हेटौंडा— लामो समयबाट विवादित हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान चैत्र महिनाभित्र सुरु हुने भएको छ । डिभिजन सडक कार्यालय हेटौंडा प्रमुख राजेश यादवले सडक विस्तारको कामले अब गति लिने बताएका छन् ।

यादवले आफूहरूले विस्तारको लागि लाग्ने खर्चको प्रस्ताव मन्त्रालयमा पेस गरिसकेको बताए । घर टहरा भत्काउनको लागि सरकारले खर्च व्यवस्थापन गर्ने बित्तिकै काम सुरु गर्न सकिने उनले बताए ।

सडक विस्तारको सवालमा आफूहरू गम्भीर भएर लागिरहेको बताउँदै उनले सर्वोच्च अदालतले रिट निवेदनलाई अस्वीकृत गरिदिएपछि विस्तारको बाधा अड्चन फुकुवा भएको बताए । अब सडक कहिलेबाट बिस्तार गर्ने योजना छ त भन्ने प्रश्नमा यादवले चैत्र भित्रमा विस्तारको काम सुरु गर्ने योजना भएको बताए ।

hetauda-bazar-2-1705648398.jpg

सडक विस्तारको विषयमा दुईवटा मानहानिको मुद्दाको फैसला आइनसकेको भन्दै उनले फैसला चैतमा आइसक्ने र त्यो भन्दा अघि सम्पूर्ण तयारी पुरा गरिने बताए । डिभिजन सडक कार्यालय हेटौंडाले २५–२५ गज सडक सीमाभित्र पर्ने संरचना हटाउन सूचना निकालेपछि सडक विस्तार कार्य रोक्न घरधनीहरू सर्वोच्च गएका थिए । 

तर सर्वोच्चले गत असार ३१ गतेदेखि साउन २४ गतेसम्म सडक विस्तार सम्बन्धमा दर्ता भएका सबै रिट खारेज गरेको छ । सडक बिस्तारविरुद्ध परेको २८ रिट खारेको भएसँगै हेटौंडा बजारमा २५ मिटर बिस्तारको बाटो खुलेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:५९
Weather Update