
काठमाडौं— असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन् ।
युगान्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेको समस्याबारे जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले युगान्डामा आफू पहिलोपटक आइपुगेको बताउँदै त्यहाँ रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध र गम्भीर रहेको बताएका थिए ।
‘युगान्डामा मेरो पहिलो भ्रमण हो। तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।
विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने प्रधानमन्त्रीले बताएका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावक भेटेको महसुस भएको बताइन् ।
कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगान्डामा रहेका नेपालीहरूको अवस्थाबारे बताएका थिए ।