
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन् ।
पार्टीनिकट खेलकुद सङ्गठनले बिहीबार ललितपुरको च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन् । उनले जनताको बलमा मौजुदा सरकारविरुद्ध आन्दोलनको खाँचो रहेको औँल्याए ।
‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ। यिनीहरूको घाँटी मात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचार वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’
उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले सरकार तरकारी बारीको बुख्याँचा जस्तो भएको पनि टिप्पणी गरे । विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताए ।
‘हामीले गर्व गर्नुपर्छ– विरोधीहरू एक्लै लड्ने/भिड्ने आँटै गर्दैनन्। हामी मात्रै हो, एक्लै लड्छौं भन्ने। हामी लड्यौं। तर सबै भएर, ससाना अङ्कहरू जोडेर उनीहरूले सरकार बनाएका छन्। सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचा जस्तो छ,’ उनले टिप्पणी गर्दै भने।
उनले मौजुदा सरकारले केही गर्न नसक्ने पनि बताए ।
‘अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ। सबै बस्छ। किनभने चिनिसके– यो बुख्याँचा हो भनेर । त्यस्तो बुख्याँचा, निकम्मा सरकार छ। सरकार निकम्मा मात्रै भइदिएको भए हुन्थ्यो!,’ उनले भने ।
उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण भएको बताए । ‘कमिसनखोरी र त्यसको संरक्षण, तस्करी र त्यसको सरण, आयोजक र संरक्षक छ सरकार!,’ उनले भने ।
उनले यस स्थितिमा ‘मिसन २०८४’ भनेर पर्खन नसकिने उनले बताए । ‘देश बरबाद हुन लाग्यो भने कहाँ मिसन ०८४? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ? उस्तै पर्यो भने यो गठबन्धन भत्काएर..!,’ उनले भने, ‘यो लोभीपापी नभत्कन सक्छन्!’