News Griha :: न्यूजगृह
राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भए : मन्त्री ज्वाला

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवको आयोजनाहरू धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुनर्विचार हुने बताएका हुन् ।

छलफल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको हालसम्मको प्रगति, समस्या, चुनौति र भावी कार्ययोजनाबारे केन्द्रित थियो । 

‘हाम्रो मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरूका बारेमा मैले यो ठाउँमा बसेर भन्न मिल्छ कि मिल्दैन थाहा छैन् । तर योजनाहरू हचुवाको भरमा छनोट भएका छन् । आयोजनाहरू साँच्चिकै राष्ट्रिय गौरवको हैसियतमा राख्ने आयोजना हुनुपर्‍यो नि,’ उनले भने, ‘कतिपय कोषहरू पनि राष्ट्रिय गौरवका आयोजनाहरू छन् । हामीले आयोजनाको पुनःमूल्यांकन गरेका छौं । आयोजनाहरू थप्नु पनि पर्छ । तर धेरै जस्तो घटाउनुपर्ने छन् । यसमा पुनर्विचार हुन्छ  ।’

उनले बहुवर्षीय आयोजनाहरूको निम्ति अलग ऐन नहुँदा कानुनी रुपमा अल्झेको गुनासो गरे । ठेक्का प्रक्रियामा ऐनकै कारण झमेला भएको भन्दै विकाससँग जोडिएका ऐन कानुनहरूलाई सहज, सरल र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 

उनले भने, ‘बहुवर्षीय आयोजनाहरूको निम्ति अलग ऐन बनाएर जान सकियो भने राम्रो हुन्छ । यसका लागि एउटा छाता ऐन बनाएर त्यस अन्तर्गत बहुवर्षीय ठेक्का सम्बन्धी काम गर्न सकिन्छ । हामी कानुनी रुपमा धेरै नै अल्झिएका छौं । विकास निर्माणसँग जोडिएका कानुनहरू सार्वजनिक खरिद ऐनमा सम्पूर्ण विषय थुपारिएको छ । त्यसैले विकससँग जोडिएका ऐन कानुनहरूलाई सहज, सरल र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता छ ।’ 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:५८
Weather Update