
विराटनगर— कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा को–१ ख ७८३५ नम्बरको बसले प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा घाइते भएकी ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो ।
मोरङकै सुन्दर हरैँचा नगरपालिका–८ मा प्रदेश १–०१–००१ च ९६३२ नम्बरको जीप र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका–२ का २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको हो ।













