News Griha :: न्यूजगृह
इटहरीमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण  

सुनसरी— इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । 

उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँगको सम्झौतामा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरिएको मेयर हेमकर्ण पौडेलले बताए । 

संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।

देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सक्षम रहेको बताए ।

-नेपाल न्यूज बैंक 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:३४
Weather Update