News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ

काठमाडौं—क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत पीडित किशोरीको तस्बिर सार्वजनिक गरेका थिए ।

त्यसबारे पीडित किशोरीको जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले राईलाई चिचिलाबाटै पक्राउ गरेको साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए । प्रहरीले उनलाई बुधबारै काठमाडौं ल्याएको छ ।

लामिछानेलाई गौशाला-२६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:२५
Weather Update