
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्गाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुङ्गाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री, सङ्घीय मन्त्रीहरू, मुख्यसचिव, गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक उपस्थित थिए ।
बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस् ।’
प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिएका हुन् ।













