News Griha :: न्यूजगृह
कठ्याङ्ग्रिदो चिसोमा त्रिपालको बास

जाजरकोट— जाजरकोट भूकम्पबाट पीडितहरूले साढे दुई महिना बित्दासम्म पनि त्रिपालको बास बस्न बाध्य छन् । आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदानसमेत समयमा नदिएका कारण पीडितहरू कठ्याङ्ग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् ।

अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जनशक्ति अभावका कारण द्रुत गतिमा आवास निर्माण गर्न सकेका छैनन् । जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयहरूका अनुसार हालसम्म करिब आधाले मात्रै अस्थायी आवास बनाएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार जाजरकोटमा कुल ३५ हजार १ सय ४० लाभग्राही कायम भएकोमा २१ हजार ४ सय ४४ घर परिवारले मात्रै अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बुझेका छन् । जिल्लाका २७ हजार १३२ परिवारले अनुदान सम्झौता गरेपनि ९ हजार ६३८ परिवारले पहिलो किस्ता बुझ्नै बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले जानकारी दिए । 

bhukampa-jajarkot-1-1705460132.jpg

त्यस्तै, रुकुम पश्चिममा कुल २८ हजार ४३ जना लाभग्राही कायम भएकोमा २२ हजार ६५ जनाले पहिलो किस्ता वापतको अनुदान रकम बुझेका छन् । जिल्ला प्रशासनका अनुसार १४ हजार ६ वटा अस्थायी आवास निर्माण कार्य सम्पन्न भएको छ । अझै आधाभन्दा धेरै परिवारको बास त्रिपालमुनि छन् । 

सरकारले समयमा अनुदानको बजेट नदिँदा र प्रक्रियागत झमेलाका कारण सबै पीडितहरूले समयमै अनुदान लिएर आवास निर्माणको काम गर्न पाएका छैनन् ।

bhukampa-jajarkot-3-1705460131.jpg

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका मेयर रबी केसीले श्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण अस्थायी आवास निर्माणले गति लिन नसकेको बताए । ‘केहीले त आवास निर्माण गरिरहेको, तर नगरपालिकाबाट लिनुपर्ने रकम बझ्न र जानकारी गराउन ढिला गरेको पनि पाइएको छ । यसकारण पनि तथ्यांकमा केही कमी देखिएको छ,’ उनले भने ।

bhukampa-jajarkot-2-1705460131.jpg

जाजरकोट केन्द्र बनाएर गत कात्तिक १७ मा गएको भूकम्पका कारण १५३ जनाको मृत्यु भएको थियो भने भूकम्पपछि चिसोका कारण नै ३७ जनाको ज्यान गइसकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:४१
Weather Update