News Griha :: न्यूजगृह
चिसो बढेपछि विराटनगर महानगरका विद्यालयमा तीन दिन बिदा

विराटनगर शीतलहर सँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ । मंगलबार सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

चिसो अत्यधिक बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । दिनभर हुस्सु लाग्ने गरेको छ ।

‘केही दिनदेखि बढेको चिसो तथा शीतलहर कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन माघ ३ गतेदेखि ५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,’ महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

यसअघि निर्णय भएको माघ ३, ४ र ५ गते महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने महानगरले जनाएको छ । बुधबारदेखि शहीद रङ्गशालामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:२२
Weather Update