
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीबाट बुढानीलकण्ठ सर्ने भएका छन् । करिब १३ महिना धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा भोलि बुधबार बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बूढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।
छोराको बिहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । देउवाका छोरा जयवीरले यही माघ २३ गते शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका छन् । उनका अनुसार इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीर र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।
काठमाडौंमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।













