News Griha :: न्यूजगृह
रुस–युक्रेन युद्धमा वाईसीएल नेताले ज्यान गुमाए

काठमाडौं— रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन् । 

लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । 

‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु भएको रहेछ, यस्तो खबर सुन्नु पर्‍यो।’  

पूर्वी लमजुङको गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो । यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो । 

साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध थिए । पार्टी जिल्ला सचिव सुनारका अनुसार श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन् । 

बुबाका अनुसार साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए । 

‘हामीलाई खाडी मुलुकमा जान्छु भनेको थियो, रुस जाने कुरा थाहै थिएन,’ श्रीमानले भने, ‘अहिले युक्रेनको आक्रमणमा परी मृत्यु भएको भन्ने खबर पाएका छौँ। त्यसबाहेक धेरै जानकारी छैन ।’

आमा चेङ्दुका अनुसार खाडी मुलुक जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ति भएको जानकारी परिवारले असोजमा मात्र पाएको थियो । ‘रुस पुगेपछि रुसी सेनाको ड्रेस लगाएर खिचेको फोटो पठाएको थियो,’ चेङ्दुले भनिन्, ‘केही दिन त कुराकानी हुँदै थियो, त्यसपछि १५/२० दिन ऊ बेपत्ता भयो, हामीले उबारे कुनै सूचना पाएनौँ ।’

श्रीमानका अनुसार, युक्रेनको आक्रमणका परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले दिएका थिए । साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता गराउन नेपालले आग्रह गरेपनि रुसले त्यसको रेस्पोन्स गरेको छैन । बरु रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या बढोत्तरी भइरहेको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:३९
Weather Update