काठमाडौं— माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।
माघेसङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा वर्ष १२ की त्रिसणा मगर, वर्ष १२ कै अञ्जना तामाङ, वर्ष १९ की रेजिना घले, वर्ष १६ की निकिता मगर, वर्ष ३० की रेखा चौधरी छन्।
त्यस्तै, वर्ष १६ की अनिसा केसी, वर्ष २५ की कल्पना चौधरी, वर्ष २२ की मन्दिरा बस्नेत पनि घाइते भएका छन्।
यस्तै अन्य घाइतेमा वर्ष ४० की मीना थापा, वर्ष १९ की रिजा रेसमी मगर र कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर छन् ।













