News Griha :: न्यूजगृह
मुगुमा नगर प्रहरी र सरकारी कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना

काठमाडौं— मुगुमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । नगर प्रहरीदेखि सरकारी कर्मचारी र केही स्थानीयले बलात्कार गर्दा बालिकाको गर्भमा बच्चा बसेपछि घटना बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले पीडित किशोरीले आफूमाथि बलात्कार भएको जाहेरी दर्ता गराएपछि ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । गत भदौमा भएको बलात्कारको घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप छ । 

बालिकाको गर्भमा भ्रूण हुर्किँदै गएपछि घटना सार्वजनिक भएको हो । डीएसपी थापाका अनुसार बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय सोही नगरपालिकाका नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका २२ वर्षीय वसन्त रोकाया लगायतविरुद्ध जाहेरी परेको छ । 

सुरुमा १४ वर्ष कै किशोरहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको पीडितले बताएकी छन् । असोज १० मा नगर प्रहरी वसन्त कार्कीसहित वसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

बलात्कारपछि पेट दुख्ने लगायत समस्या देखापरेपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउन पुगेकी थिइन् । त्यहाँ जाँच गराउँदा उनको गर्भमा बच्चा रहेको पाइएको थियो ।

बालिकाको जाहेरीपछि घटनामा संलग्न रहेको आरोप लागेका तीन किशोरसहित नगर प्रहरी कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी रोकायालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको मुगुका प्रहरी प्रमुख थापाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:१७
Weather Update