News Griha :: न्यूजगृह
भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

काठमाडौं— नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आइतबार आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एकदुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भोलिदेखि आजभन्दा अलि बढी पश्चिमकी वायुको प्रभाव रहने भएका कारण हल्का वर्षाको सम्भावना रहेको छ । उनले भने, 'आज पश्चिमी वायुको प्रभाव आंशिक रूपमा रहेको छ । रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना रहेको छ । तराईमा भने वर्षाको सम्भावना छैन ।' 

वर्षा भए पनि १० मिलिमिटर भन्दा कम नै वर्षा हुने उनको भनाइ छ । सोमबार रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मङ्गलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार तराईमा लागिरहेको हुस्सुसमेत भोलिदेखि हट्दै जानेछ ।

उनले भने, 'भोलिदेखि तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा बिहानदेखि हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ ।'

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:५१
Weather Update