News Griha :: न्यूजगृह
बुद्ध एअरको स्वामित्व दाबी गर्ने शिवेन्द्र : आधा दर्जन मुद्दाका आरोपित, ठगी र जालसाजीका नाइके ! 

काठमाडौं— नेपालमा सञ्चालित निजी क्षेत्रमा उदाहरणीय कम्पनी मानिन्छ बुद्ध एअर । बुद्ध एअरले साढे २ दशकदेखि नेपाली आकाशमा उडान भरिरहेको छ । तर पछिल्लो समय भने बुद्ध एअरको स्वामित्वमा विवाद देखापरेको छ । स्वामित्व विवाद सहोदर दाजुभाइबीच हो । 

बुद्ध एअरका संस्थापक स्वर्गीय सुरेन्द्र बहादुरका दुई छोरा हुन्– जेठा वीरेन्द्र र कान्छा शिवेन्द्र । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एअरको शेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत शेयर थियो ।

सुरेन्द्रको निधन भएसँगै उनका छोराहरूबीच सम्पत्तिलाई लिएर विवाद भएको हो । सुरेन्द्रले वीरेन्द्रको परिवारको नाममा ४० तथा शिवेन्द्रको परिवारका सदस्यको नाममा ४० प्रतिशत शेयर दिएका छन् । शिवेन्द्रको नाममा कुनै शेयर छैन तर उनको श्रीमती र छोराछोरीको नाममा भने सुरेन्द्रले शेयर दिएका छन् । तर पनि शिवेन्द्र बुद्ध एअरको ४० प्रतिशत शेयर आफ्नो भएको दाबी गर्छन ।

को हुन शिवेन्द्र ?   

शिवानी एअरका विद्यार्थीहरूबाट पैसा उठाएर अमेरिका भागेका व्यक्ति हुन् शिवेन्द्र । उनले शरणार्थीको हैसियतमा अमेरिकी नागरिकतासमेत लिएका छन् ।  नेपालमा पाइलट बनाइदिन्छु भन्दै २ दर्जन बढी विद्यार्थीबाट ७ करोड बढी पैसा उठाएर फरार भएका व्यक्ति हुन् पनि शिवेन्द्र  । विद्यार्थीको पैसा पचाउन शिवेन्द्र गुपचुप अमेरिका हानिए । त्यहाँ उनले शरणार्थीको हैसियतमा अमेरिकी नागरिकता प्राप्त गरे । 

शिवेन्द्रले पाइलटसम्बन्धी तालिम दिनेगरी स्थापना गरेको शिवानी एअरले तत्कालीन समयमा विद्यार्थीबाट ३० लाख रुपैयाँका दरले पैसा उठाएको थियो । तत्कालीन समयमा शिवानी एअरमा ट्रेनिङ लिएका एक विद्यार्थीले भने, ‘जुन हिसाबले पाइलटसम्बन्धी तालिम दिने दाबी गरिएको थियो, त्यो केही पनि भएन । पछि त यसका सञ्चालक नै फरार भएपछि तालिममा सहभागीहरू समस्यामा परेका थियौँ ।’

सन् २००६ मा स्थापना भएको ‘शिवानी फ्लाइङ स्कुल’ले भरतपुर विमानस्थललाई आधार बनाएर तालिम सञ्चालन गरेको थियो । तत्कालीन समयमा करिब २ दर्जन विद्यार्थीहरूले ३० लाख रुपैयाँसम्म तिरेर तालिम लिएका थिए । विद्यार्थीहरूबाट संकलित करिब ७ करोड ५० लाख रुपैयाँ शिवेन्द्रले अपचलन गरेर फरार भए । 

शिवेन्द्रले भने तत्कालीन समयमा आर्थिक रूपमा समस्या देखिएपछि आफूले थेग्न नसकेका कारण अर्का व्यवसायी मणिरन्द्रलाल रञ्जितकारलाई कम्पनी बेचेको बताएका छन् । ‘मैले तिनुपर्ने सबै बैंक वित्तीय संस्थाको रकम, व्यक्तिगत रकम र तीनवटा जहाजसहित कम्पनीको स्वामित्वमा रहेको सबै सम्पत्ति मैले रञ्जितकारलाई बेचेको हुँ,’ शिवेन्द्रले भने, ‘तत्कालीन समयमा नै मैले कागज गरेर सबै हिसाबकिताब मिलान पनि गरेको हुँ ।’ शिवेन्द्रले २००९ मा आफूले सो कम्पनी बेचेको दाबी गरेका छन् ।  

शिवेन्द्र फरार भएपछि रञ्जितकारलाई प्रहरीले ठगी आरोपमा पक्राउसमेत गरेको थियो ।  पछि शिवानी एअर ‘बैंकरप्ट’ भयो । शिवानीले भरतपुर विमानस्थलमा निर्माण गरेको ‘ह्याङ्गर’ र सो ह्याङ्गरमा राखिएको ३ थान वायुयानको भाडा नबुझाएपछि शिवानी एअर ‘सिज’ अवस्थामा छ ।  

शिवेन्द्रमाथि आधा दर्जन आरोप
त्यस्तै माउन्टेन एअरको हिसाबकिताबमा पनि घोटाला गरेको आरोप शिवेन्द्रमाथि छ । उनले विभिन्न बैंकहरूमा कम्पनीको नाममा लिएको १५ करोडभन्दा बढी रकम नतिरेका कारण तत्कालीन समयमा कालोसूचीमा समेत परेका थिए । ‘अहिले कुनै बैंकको कालोसूचीमा मेरो नाम उल्लेख छैन,’ शिवेन्द्रले दाबी गरे । त्यस्तै उनमाथि बहुविवाहको समेत आरोप छ । त्यस्तै सन्तानलाई नागरिकता नदिनेको लगायतको मुद्दासमेत उनले खेपिरहेका छन् । उनीमाथि अशंबण्डाको मुद्दा पनि छ । त्यस्तै, भारत विहारबाट आईएस्सीको नक्कली सर्टिफिकेट लिएर पाइलट बनेकोसमेत अभियोग उनीमाथि छ ।

किन दिएनन् सुरेन्द्रले शिवेन्द्रलाई शेयर ? 

शिवेन्द्रले बुद्ध एअरमा ४० प्रतिशत शेयर छ भनेर दाबी गरेपनि उनको नाममा भने शेयर ‘ट्रान्सफर’ भएको देखिन्न् । शिवेन्द्रकी श्रीमती अर्चना बस्नेत र उनका नाबालिग २ छोराछोरीको नाममा बुद्ध एअरको ४० प्रतिशत शेयर बुवा सुरेन्द्रबहादुर बस्नेतमार्फत ‘ट्रान्सफर’ भएको देखिन्छ । 

पारिवारिक स्रोतलाई आधार मान्ने हो भने शिवेन्द्र बस्नेतको व्यक्तिगत शैली र विवाहेत्तर सम्बन्ध नै यसको मूल कारण हो । यतिसम्म कि शिवेन्द्रले आफ्नो भागमा परेको पुख्र्यौली सम्पत्ति पनि बेचेर सकेका थिए । त्यसैकारण उनका बुवा सुरेन्द्रबहादुर बस्नेतले शिवेन्द्रलाई बुद्ध एअरको शेयर ट्रान्सफर नगरी उनकी श्रीमती र छोराछोरीको नाममा शेयर दिएका थिए । 

शिवेन्द्रले आफ्नो भनेर दाबी गरेपनि बुद्ध एअरको शेयर उनको नाममा अझै ट्रान्सफर भएको छैन । शिवेन्द्रलाई विपक्षी बनाउँदै कुनैबेला उनकै सहयोगीको रूपमा काम गरेकी बबी रायमाझीले ललितपुर जिल्ला अदालतमा अंश मुद्दा हालेकी छन् ।

माउन्टेन एअरको सञ्चालकसमेत रहेका शिवेन्द्रले तत्कालीन समयमा सोही कम्पनीमा कार्यरत एअरहोस्टेस रायमाझीसँग विवाहेत्तर सम्बन्ध राखेको पारिवारिक स्रोतको दाबी छ । ‘उनीहरूबाट १ छोरीको जन्मसमेत भएको छ । तर, शिवेन्द्र अहिलेसम्म बबीसँगको सम्बन्ध र छोरीको विषयमा भाग्दै हिँडेका छन्,’ बस्नेतको पारिवारिक स्रोतले भन्यो, ‘यतिसम्म कि ती बालिकाको नागरिकता बनाउन समेत अहिले समस्या भएको छ ।’

‘यो अदालतमा भएको मुद्दाको विषय हुनाले मैले यसमा धेरै टिप्पणी गर्दिन । तर, व्यक्तिगत रूपमा भन्ने हो भने मलाई जुन आरोप लगाएर मुद्दा हालिएको छ, त्यो सरासर मलाई फसाउने खेल हो,’ शिवेन्द्र दाबी गर्छन् । 

के भन्छ कम्पनी ? 

स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको नाममा रहेको बुद्ध एअरको ८० प्रतिशत शेयरमध्ये वीरेन्द्रबहादुरको परिवारका सदस्यको नाममा ४० प्रतिशत र बाँकी ४० प्रतिशत अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेतसँगै आदर्शबहादुर बस्नेतको नाममा हुनेगरी विभाजन भएको छ ।

शिवेन्द्रले २०५६ सालमै बुद्ध एअर छोडेको दाबी कम्पनीको छ । त्यतिबेला घाटामा रहेको कम्पनी अनवरत मिहिनेतले सफल व्यवसायिक संस्थाको रूपमा स्थापित भएको दाबी छ । हाल बुद्ध एअरमा १ हजार ५ सय कर्मचारी कार्यरत छन् । र, कम्पनीले राज्यलाई करोडौँ रुपैयाँ कर तिर्दै आएको छ ।

बुद्ध एअरले ११ अक्टोबर १९९७ मा एउटा विमानबाट सेवा सुरु गरेको थियो । उसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एअरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर्ड) उडान पनि गर्दै आएको छ । उसले १७ वटा एटीआर विमानबाट सेवा दिइरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:२७
Weather Update