News Griha :: न्यूजगृह
१२ जनाको ज्यान जानेगरि दाङमा भएको बस दुर्घटनाको कारण तीव्र गति   

दाङ— नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति तीव्र गतिमा हुइँकिरहेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ स्थित भालुबाङ बजार पुग्दा पनि बसको गति नियन्त्रण भएन ।

पुलतर्फ अघि बढेको बस केहीबेरमै पुलको दायाँतर्फको बार भत्काउँदै राप्ती नदी किनारको नहरमा खस्न पुग्यो । बसमा सवार एक महिला र ११ पुरुष गरी १२ यात्रुको मृत्यु भयो, २४ जना घाइते भए ।

सामान्यतया भालुबाङ बजारमा लामो दूरीका बसहरू केहीबेर रोक्ने र यात्रु चढाउने, ओराल्ने गरिन्छ । भालुबाङ र अर्घाखाँचीको शिवगङ्गा जोड्ने राप्ती नदीको पुल छेउमै ट्राफिक प्रहरीको पोस्ट पनि छ । नियमित गाडी जाँच गर्ने पोस्ट नभए पनि यहाँ पुगेपछि प्रायः गाडीको गति कम गरेर चलाउने गरिन्छ ।

तर शुक्रबार राति १०:३० बजे उक्त पोस्टमा पुगेको बस नरोकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताए । ‘भालुबाङ ट्राफिक प्रहरी पोस्टमा बस दर्ता गर्ने गरेको त छैन, तैपनि बजार क्षेत्र र प्रहरी पोस्ट भएकाले बस आफैं रोकेर जाने गरिन्छ,’ मल्लले भने, ‘तर, दुर्घटनामा परेको बस त्यहाँ रोकिएन । अहिलेसम्मको अनुसन्धानमा चालकको लापरबाही देखिन्छ । गाडीको थप प्राविधिक जाँच हुन बाँकी छ ।’

सडक धेरै अप्ठेरो नभएको ठाउँमा घटना भएकाले तीव्र गतिकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । लामो दूरी र रात्रिबसका चालकले तीव्र गतिमा बस चलाउने समस्या रहेको उनले बताए । ‘प्रायः लामो दूरीका बस तीव्र गतिमा हुन्छन् । गाडीको प्राविधिक समस्या हुँदैन भन्न त सकिँदैन तैपनि चालकले ध्यान पुर्‍याउँदा दुर्घटनाबाट बचाउन सकिन्छ,’ उनले भने, ‘यस घटनामा सजिलो ठाउँमा पनि बस नदीमा जानु गम्भीर कुरा हो । यसमा थप अनुसन्धान गरेर दुर्घटनाको कारण पत्ता लगाउँदै छौं ।’

चालकले प्राविधिक समस्याका कारण बस नियन्त्रण गर्न नसकेको बताए पनि प्रहरीले त्यसमा विश्वासिलो आधार फेला पारेको छैन । ‘दुर्घटना हुने खालको स्थान नभए पनि तीव्र गतिका कारण बस खसेको देखिन्छ । अन्य दुईवटा बस रोकिराखेको भए पनि उक्त बस भालुबाङ बजारमा नरोकेर हुइँकिएको थियो,’ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने, ‘तीव्र गतिमा भएका कारण बस पुलबाट तल खसेको देखिन्छ । चालकको लापरबाहीकै कारण यति ठूलो दुर्घटना हुन पुगेको छ ।’

प्रहरी घटनास्थल पुग्दा चालक सल्यानका २८ वर्षीय लालबहादुर नेपाली पनि दुर्घटनास्थल मै थिए । तर, उनलाई केही चोटपटक लागेको छैन । बस पानीमा खसेको र चालकले स्टेरिङ बलियोसँग समाएर बसेका कारण केही चोटपटक नलागेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘चालकले प्राविधिक समस्याका कारण बस नियन्त्रण गर्न सकिएन भनिरहेका छन् तर बस तीव्र गतिमा भएको देखिन्छ,’ केसीले भने, ‘चालकको लागूऔषध सेवन गरेको थियो कि भनेर जाँच गर्दै छौं । मानवीय कमजोरी हो कि प्राविधिक कमजोरी हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

दुर्घटनामा बाँके नेपालगन्जकी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । यसैगरी जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्र र चितवनका ३५ वर्षीय अनिल खड्काको मृत्यु भएको छ ।

यस्तै भारत नानपाराका ४५ वर्षीय चेतराम शिल्पकार, खजुरा गाउँपालिका–३ सिर्जनशील टोल बाँकेका २५ वर्षीय सञ्जय केसी र कोहलपुर नगरपालिका–८, बाँकेका २८ वर्षीय अर्पण थापाको मृत्यु भएको मल्लले जानकारी दिए । मृतकहरूको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए । घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेकामा तीन जना डिस्चार्ज भएका छन् भने ११ जनाको उपचार भइरहेको छ । घाइते नौ जनाको बुटवल र एक जनाको भालुबाङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०७:०२
Weather Update