आजको मौसम : तराईमा हुस्सु र कुहिरो

काठमाडौं— उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा आज बिहान ५:४५ को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियसको बीचमा पुग्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८० ०६:४४