News Griha :: न्यूजगृह
दाङको भालुबाङमा बस दुर्घटना, १२ जनाको मृत्यु

दाङ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको हो । घाइतेहरूको बुटवल र नेपालगञ्जमा उपचार भइरहेको छ । 

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटा शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकको सनाखत भएको छैन ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको थियो । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:१४
Weather Update