
काठमाडौं— पृथ्वीनारायण शाहको प्रतिमा राख्ने आशङ्कामा पृथ्वी जयन्तीलाई लिएर कास्कीका तीनवटै सुरक्षा निकाय हाई अलर्टमा छन् । पृथ्वीनारायण शाहको नामबाट राखिएको पृथ्वीचोकमा लखन थापामगरको सालिक छ ।
सोही सालिकमा केही महिना अघि विवादसमेत भएको थियो । उक्त विवाद दोहोरिने आशङ्कामा सुरक्षा निकायले टोली खटाएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पृथ्वीचोकमा खटिएको छ ।
शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । जन्मजयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यक्रम नै आयोजना गरेको छ । राष्ट्र गौरव अभियान नामक संस्थाले पनि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रमलाई विभिन्न १० वटा जातीय तथा संस्थाले पनि साथ दिएका छन् । कार्यक्रमकै लागि भनेर राप्रपाका नेता रवीन्द्र मिश्र पनि पोखरा पुगेका छन् ।
पछिल्लो समय शान्त बने पनि पृथ्वीजयन्तीको अवसरमा फेरि सालिक विवाद आउन सक्ने आशंका गरेर नै सुरक्षा निकाय अलर्टमा बसेका हुन् ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने, ‘प्रतिमा राख्ने नै भन्ने सूचना त छैन, तर हुन सक्छ भन्ने हिसाबले अलर्टमा छौँ । प्रहरी निरीक्षकको कमान्डमा टोली खटाएका छौँ ।’
राप्रपाले स्थानीयसँग मिलेर गत पुस ८ गते मध्यरातमा पोखरा-१० स्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्रको सालिक स्थापना गरेको थियो । वीरेन्द्रचोकको जस्तै घटना दोहोरिन्छ कि भन्ने आशङ्कामा पनि सुरक्षाकर्मीको गस्ती बिहीबार रातिदेखि खटाइएको हो ।
पुस ८ गते राखिएको सालिकमा १४ गते वीरेन्द्रको जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो ।
स्थानीयकै पहलमा उक्त सालिक राखिए पनि पृथ्वीचोकको विषय पेचिलो छ । यहाँको सालिक विवादमा साम्प्रदायिक देखि राजनीतिक रङ्ग भेटिन्छन् । त्यसकारण पनि सुरक्षा निकायले पृथ्वीचोकलाई विशेष चासो दिएको हो ।













