
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र बिहे गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् ।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालविवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।
‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्यो । त्यो बेला नागरिकता हुनै पर्यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ,’ उनले भनिन् ।
धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै आरजुले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको पनि बताइन् ।













