
काठमाडौं— बलात्कारी सन्दीप लामिछानेबाट पीडित युवती भन्दै पहिचान खुलाउने खोज्नेविरुद्ध प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ ।
गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो ।
यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । ‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौँ,’ उनले भने ।
गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन् ।
पछिल्लो समय जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकेपछि पीडित गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेका छन्।













