
काठमाडौं— बलात्कारी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन् ।
रास्वपाले चितवनका दिवस सापकोटालाई निलम्बन गरेको हो। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ । सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ ।
‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ । अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको भन्दै सापकोटालाई रास्वपाले निलम्बन गरेको हो ।
गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।
अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ ।
गोपनीयतासम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।
पीडित युवतीको परिचय गोप्य राख्न उनको वास्तविक नामलाई परिवर्तन गरि गौशाला २६ राखिएको हो ।













