News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— सत्ता गठबन्धनले टीआरसी विधेयकलाई पूर्णरूप दिन प्रमुख प्रतिपक्षी दल एमालेको ग्रीन सिग्नल कुरेको जनाएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् ।

बिहीबार बिहान सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि गठित उपसमितिको प्रतिवेदनसहित भएको छलफलका क्रममा सत्ता गठबन्धनले टीआरसी विधेयकलाई अन्तिमरूप दिन राजनीतिक सहमति जुटाउन प्रयास गरिरहेको गुरुङले स्पष्ट पारे । 

अबका आठ/दश दिनसम्म शीर्ष नेताहरूसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुङ्गोमा पुर्याइने उनको भनाइ छ ।समितिमा प्रमुख प्रतिपक्षी समेत रहेको नेकपा एमालेले टीआरसीलाई सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरेको थियो । समितिको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उक्त प्रस्ताव राखेका हुन् । 

Prabhu Bank

विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने तर त्यसमा एमालेले अवरोध नगर्ने बर्तौलाको धारणा थियो । एमालेले टीआरसीबारे अवरोध गरिराखेको छ भनेर प्रचार नगरिदिन पनि बर्तौलाले आग्रह गरे ।

‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौँ होला तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ,’ उनले भने । आफूहरू प्रमुख प्रतिपक्षी दल भएकाले देश, जनता, पीडित र समग्र शान्ति प्रक्रियाको विषय उठाएको भन्दै त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझ्ने आग्रह गरे । टीआरसीको विषय साझा भएको उनको बुझाइ छ ।

तर, विधेयकमा स्पष्ट पारिनुपर्ने चारवटा विषयमा थप छलफल र स्पष्ट नपारी आफूहरू पूर्ण सहमत हुन नसक्ने धारणा बर्तौलाले राखे । 

मुख्यगरी विधेयकमा पहिलो, मानवअधिकार उल्लंघन र गम्भीर उल्लङ्घनको घटना सन्दर्भमा ‘हत्या’को परिभाषा कसरी गर्ने ?,दोस्रो, कानून निर्माण गर्दा ‘बाल सेना’को विषय सशस्त्र द्वन्द्वको समयमा अयोग्य भनिएका लडाकुहरूलाई लोकतान्त्रिक योद्धाको रुपमा राज्यले सम्मान दिएपनि न्याय नपाएकाले उनीहरूलाई सम्बोधन गर्नुपर्ने बताए ।

एमालेले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पीडितसँग स्वतन्त्र सहमति नभएको अवस्थामा के गर्ने भनेर कानूनी प्रावधान राखे आफूहरूले असहज नहुने बताए ।  छलफलका क्रममा एमालेको तर्फबाट राखिएका विषयहरू सुनिसकेपछि कानुनमन्त्री गुरुङले टीआरसी विधेयक पास हुनेमा बलियो सम्भावना बढेर गएको बताए । 

बर्तौलाले ‘फकफकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टाको शैलीमा भनेपछि मन्त्री गुरुङले जवाफ दिदै भने,‘अन्तिमसम्म प्रयास गरौँ । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:५६
Weather Update