News Griha :: न्यूजगृह
यो वर्ष बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

काठमाडौं— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ ।

संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको हो । 

सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिकहरू आउनेछन् । जसकाकारण बेरोजगारी दर विगतभन्दा पनि धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्नेछ । सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत मात्रै थियो । आइएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएपनि श्रम बजारमा आश्चर्यजनक रुपमा लचिलो भएको र बहुपक्षीय संकट देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको जनाएको छ । 

सन् २०२४ मा २० धनी राष्ट्रहरूमा समेत खर्च योग्य आयमा गिरावट आउने आइएलओको दाबी छ । ‘उच्च र निम्न आय भएका देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,’ आइएलओले भनेको छ, ‘२०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत बेरोजगार दर थियो भने निम्न आय भएको देशमा बेरोजगार दर ५.७ प्रतिशत थियो ।’ 

यो वर्ष काम गर्ने गरिब श्रमिकहरू बढ्ने आइएलओको दाबी छ । सन् २०२३ मा दैनिक २.१५ डलर भन्दा कम कमाउने कामदारको संख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलर भन्दा कम कमाउने श्रमिकहरूको संख्या ८४ लाख पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:००
Weather Update